काठमाडौं— खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभागको टोलीले सानेपा स्थित नाङ्लो बेकरी प्रालिमा छापा मारेको छ। दि बेकरी क्याफे नयाँ बानेश्वरबाट खरिद गरेको केक खाँदा वान्ता भएको भन्ने उपभोक्ता उजुरीको आधारमा अनुसन्धान अघि बढाउँदै सोमबार बेकरीमा छापा मारी सिलबन्दी गरिएकाे हाे।
खाद्यको टोलीले दि बेकरी क्याफे, नयाँ बानेश्वरमा निरिक्षण गर्दा नाङ्लो बेकरी प्रालि, सानेपाबाट दैनिक रुपमा केक खरिद गर्ने र बिक्री नभएको अर्को दिन फिर्ता गर्ने गरेको भनिएको थियो। तर सो को अभिलेख प्रमाण क्याफेले पेश गर्न नसकेको पाइएको विभागले जनाएको छ। अनुसन्धानबाट उक्त केक नाङलो बेकरी प्रालि ठैव शाखाको रुपमा सानेपा स्थित केक पेस्ट्रि उत्पादन गर्ने कारखानाबाट उत्पादन भएको र उक्त उत्पादन स्थलले अनुज्ञापत्र नलिएको खुलेको छ।
संकलित केकको नमुनाको विश्लेषण प्रतिवेदनले हाइजिनिक अवस्था समेत सन्तोषजनक नरहेको पाइएको विभागले उल्लेख गरेको छ। नाङलो बेकरी प्रालि ठैवले अनुज्ञापत्र लिएको तर खाद्य नियमावली २०२७ को नियम ३० अनुसार छुट्टै उत्पादन स्थानले समेत अनिवार्य अनुज्ञापत्र लिनुपर्ने व्यवस्था भएकोमा नाङलो बेकरी प्रालि सानेपाको नाममा अनुज्ञापत्र नभएको पाइएको थियो।
हाइजिनिक अवस्था समेत सन्तोषजनक नपाइएकोले नाङलो बेकरी प्रालिको सानेपा स्थित उक्त केक पेस्ट्री उत्पादन स्थलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, ललितपुर समेतको अनुगमन टोलीले सोमबार सिलबन्दी गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए।
nagariknews



