×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २६ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • २४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

मैना सुनुवारको पुनर्जन्म

  •  
  • आइतबार, माघ ०३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शोभा शर्मा

    आफ्नी छोरी मैना सुनुवार मारिएको १२ वर्ष बितिसक्दा पनि अभियुक्त जेल नपर्दा देवीलाई लाग्थ्यो, छोरीका हत्याराले सजाय पाएको देख्नै नपाई मर्छु कि क्या हो!
    जिल्ला अदालत काभ्रेपलाञ्चोकले गएको मंगलबार दुई वर्षदेखि मुल्तवी रहेको मुद्दा ब्युँताएपछि भने देवीको मनलाई शान्ति मिलेको छ।
    ‘मलाई त छोरी नै फर्केर आई कि जस्तो भइरहेको छ,’ जिल्ला अदालतको फैसलाबारे प्रतिक्रिया दिँदै देवीले सेतोपाटीसँग भनिन्।
    देवीले केही समययता राजधानीको कोटेश्वरमा बालबालिकासम्बन्धी काम गर्ने संस्था खोलेकी छन्, जसको नामै ‘मैना’ हो। अफिसको भित्तामा उनैको तस्बिर टाँगेकी छन्। मसँग कुरा गर्दागर्दै उनी धेरैचोटि भित्तामा झुन्डिएको मैनाको तस्बिरतिर टोलाएकी थिइन् ।
    मैना कहिल्यै फर्केर आउने छैनन्, यो साँचो हो ।
    त्यत्तिकै साँचो हो, देवीका लागि मैना कहीँ गएकी नै छैनन् ।
    ‘ऊ यहीँ छ, मसँगै,’ देवी भन्छिन् ।
    …
    मुद्दा चलेको सात वर्षसम्म अभियुक्तहरू अदालतमा उपस्थित हुन नआएपछि दुई वर्षअघि मैना सुनुवारको मुद्दा मुल्तवी राखिएको थियो।
    मुल्तवी अवधि सकिएपछि देवीले मुद्दा ब्युँताउन निवेदन दिइन्। काभ्रे अदालतको तीन नम्बर इजलासले ‘यो मुद्दा फेरि दर्ता गरी सुनुवाई गर्नू’ भन्यो। आदेशअनुसार अब मैना हत्याका अभियुक्त सेनाका पूर्व महासेनानी बबी खत्रीसहित तीन जना सैनिक अधिकारी अदालतमा उपस्थित हुँदै नभए पनि सुनुवाइ सुरु हुनेछ। र, फैसला हुनेछ।
    ‘मैले आजसम्म छोरीको दाहसंस्कार गरेकी छैन, अदालतको फैसला कुरिरहेकी छु,’ देवीले भनिन्, ‘त्यसपछि बल्ल उसको आत्माले शान्ति पाउँछ।’
    बाह्र वर्षअघि माओवादी द्वन्द्वका नाममा सेनाबाट भएको ज्यादती र हिंसाविरुद्ध आवाज उठाएकैले छोरी गुमाउनुपरेको हो, देवीले।
    त्यतिबेला सेनाले देवीकी भतिजीको हत्या गरेको थियो। भतिजीको न्यायका लागि आवाज उठाउँदा सेनाबाट उनकै छोरीको हत्या भयो। उनी अब छोरीको निम्ति न्यायको लडाइँमा छिन्, सेनाविरुद्ध।
    देवी एमालेकी ‘सक्रिय कार्यकर्ता’ थिइन्। गाउँभरि मर्दापर्दा अघि बढ्नेमा उनकै नाउँ आउँथ्यो। सामाजिक काममा हिँड्दाहिँड्दा घरको बास भने कमै हुन्थ्यो। साँझ हस्याङफस्याङ घर फर्केपछि छोरीले पकाएको खाएर उनी लुपुक्क सुत्थिन्। घर सम्हाल्न कम समय पाए पनि गाउँलेको भर र मायामा उनी धनी थिइन्।
    त्यही देखेर मैना भन्थिन् रे– ‘म पनि तपाईं जस्तै बन्ने हो आमा!’
    २०६० माघ मसान्तको त्यो घडी भने उनको हराभरा जिन्दगीमा कहर बनेर बर्सियो।
    माओवादी ‘जनयुद्ध दिवस’ को पूर्वसन्ध्या थियो। देवी आफ्ना देवरलाई साथ लिएर बिरामी आमा हेर्न मसान्तिकै दिन माइति गएकी थिइन्। उनको माइती र देवरको ससुराली एकै ठाउँ हो।
    त्यो रात बिरामी आमाको छेउको खाटमा देवी र उनका दाजुकी छोरी रिना सँगै सुते। रात छिप्पिएपछिको कुरा हो, उनको माइतीको दैलोमा लात्ता हानेर एक हुल मान्छे भित्र छिर्यो। उनी झसंग ब्युँझिइन्। वर्दी लगाएका सुरक्षाकर्मी रहेछन्।
    सुरक्षाकर्मी देखेर उनको मनमा झन् चिसो पस्यो। रातबिरात सुरक्षा दिन यिनीहरू पक्कै आएका होइनन्!
    नभन्दै सेनाले देवी सँगै सुतेकी भतिजीलाई घिसार्दै बाहिर लग्यो। ‘तँ माओवादीलाई भात खुवाउने, बास दिने’ भन्दै तथानाम गाली गर्यो। पिट्नसम्म पिट्यो। देवीका देवरलाई पनि आँगनमा लगेर लात्तैलात्ताले, बन्दुकको कुन्दाले कुट्यो।
    माओवादीलाई खाना खुवाएको र बास दिएकै आरोपमा सेनाले गरेको यो ज्यादती टुलुटुलु हेरिरहेकी थिइन्, देवी।
    राजनीतिमा लागेकीले गाउँको स्थितिसँग उनी भलिभाँति परिचित थिइन्। गाउँमा स्थिति कस्तो थियो भने, एकदिन माओवादी आउँथे, गाउँलेहरूको सातो लिएर जान्थे। अर्को दिन पाँचखालबाट बुट बजार्दै सेना आउँथे, बाँकी रहेको होस पनि खोसेर लैजान्थे। दुई बन्दुकको बीचमा पिल्सिएका निरीह जनता न माओवादीलाई ‘खानबस्न दिन्नौं’ भन्न सक्थे न त राज्यका सुरक्षाकर्मीलाई आँखा उठाएर हेर्ने तागतै राख्थे।
    दुवै पक्षले जसलाई मन लाग्यो उसैलाई जेसुकै आरोपमा उठाउन सक्थ्यो। बन्दुकको डर यति भयानक थियो, जुनसुकै गोली पड्किए पनि घरको आँसु घरभित्रै रहन्थ्यो। कति आँसु त कसैले सुइँकोसम्म नपाई सुकेर जान्थ्यो। कतिको डोब मात्र रहन्थ्यो।
    रिना त्यसरी नै सेनाको चंगुलमा परेकी थिइन्।
    उनलाई घरपछाडि लगेर के–के गरे, देवीलाई थाहा छैन। यत्ति थाहा छ, रिनाको चित्कारले त्यो रातभरि उनको कान खाएको थियो। मुटु छियाछिया पारेको थियो। आँखाबाट आँसुको साउनेझरी बर्सेको थियो। उनी प्रतिरोध गर्न चाहन्थिन्, तर सेनाको बन्दुकसँग के जोड चल्थ्यो!
    रातको सन्नाटामा रिनाको चित्कारबाहेक गाउँभरिको आवाज दबियो।
    एकैछिनमा ढ्याम्म बन्दुक पड्केको आवाज आयो। त्यसपछि सब शान्त।
    अघिसम्म चिच्याइरहेकी रिना पनि कराउन छाडिन्।
    सेना फर्केपछि देवी घटना भएको ठाउँ पुगिन्। रिनाको सास बाँकी थिएन। कपडा च्यात्तिएका थिए। यता घरभित्र दाइभाउजू बेहोस थिए, जसलाई सम्हाल्ने जिम्मा अब देवीकै काँधमा थियो।
    उज्यालो भएपछि गाउँलेहरू आए। सबैले चुपचाप दाहसंस्कार गर्ने सल्लाह दिए। सेनासँग मुखामुख लाग्ने साहस कसैसँग थिएन। देवीले भने हिम्मत हारिनन्। प्रहरी डाकेर मुचुल्का नउठाई भतिजीको दाहसंस्कार नगर्ने अडान लिइन्।
    त्यसै दिन दिउँसोतिर रेडियो नेपालले ‘रिना रसाइलीसहित दुई जना आतंककारी भिडन्तमा मारिएको’ खबर फुक्यो। निहत्था भतिजीलाई सेनाले आफ्नै आँखाअगाडि घरबाट तानेर गोली ठोकेको देखीदेखी भिडन्तमा मारिएको भन्ने खबर सुन्दा देवीलाई असह्य भयो। उनले सेनाबाट भएको हत्याविरुद्ध न्यायिक लडाइँ लड्ने निर्णय गरिन्।
    अधिवक्ता गोविन्द बन्दीसँग देवीको परिचय थियो। उनले गाउँको टेलिफोन सेन्टरबाट तुरुन्तै गोविन्दलाई फोन गरिन्। घटनाबारे बताइन्। गोविन्द र उनका साथीहरू भोलिपल्टै घटनास्थल आए। फागुन ३ गते देवीलाई उद्धृत गर्दै अखबारहरूमा खबर छापियो– रिना रसाइलीलाई सेनाले भिडन्तमा मारेको हैन, राति घरबाट थुतेर गोली ठोकेको हो।
    खबर छापिएको दुई दिनपछि देवीमाथि अर्को बज्रपात पर्यो।
    फागुन ५ गते। दिउँसोको समय थियो। उनका पति आत्तिँदै घरबाट आइपुगे।
    ‘सेनाले छोरी लगे,’ पतिको मुखबाट यस्तो सुनेपछि देवीको सातो गयो।
    शोकमा डुबेको माइतीलाई चटक्कै छाडेर उनी घरतिर दौडिइन्।
    त्यस दिन झिसमिसे नहुँदै देवीलाई सोध्दैखोज्दै सेनाको जत्था बुट बजार्दै गाउँ पसेको रहेछ। घरको खानतलासी गरेछ। देवीलाई नदेखेपछि छोरी मैना र ठूलो छोरालाई जबर्जस्ती लगेछ। छोरालाई पर लगेर छाडिदिएछ, मैना भने अनाहक सेनाको फन्दामा परिछन्।
    ‘बाटोभरि पिट्दैपिट्दै लगेको थियो,’ मैनालाई सेनाले लगेको देख्नेहरू भन्थे।
    यो सुनेर देवीको मुटु फुल्थ्यो। आफूले एक थप्पड नउठाएकी छोरीले सेनाको मार कसरी सहेकी होलिन्! त्यति जतनले हुर्काएकी छोरीलाई राज्यका सुरक्षाकर्मी आएर बिनाकारण कसरी उठाउनसके! उनको मनमा हुन्डरी चल्यो। आफ्नै अगाडि सेनाले भतिजीलाई मारेको सम्झेर उनी घरिघरि कहालिन्थिन्।
    भोलिपल्टै पाँचखाल आएर उनले सोधिन्, ‘मेरी छोरी खै?’
    सेनाको अफिसबाट जवाफ आयो, ‘हामीलाई थाहा छैन।’
    त्यसयता देवी कहिले छोरीको सास, कहिले लास र कहिले न्यायको खोजीमा हिँडेका हिँड्यै छिन्।
    कतिसम्म भयो भने, उनी पाँचखालको सैनिक ब्यारेकमा छोरी कुर्दाकुर्दै होस छाडेर पल्टेकी हुन्थिन्। सेना भने उनैलाई खोज्दै गाउँ छिरेको हुन्थ्यो। त्यो बेला ब्यारेकमा बेहोस लडिरहेकी महिला नै मैनाकी आमा हुन् भन्ने पत्तो पाएका भए देवी उहिल्यै सेनाको शिकार भइसकेकी हुन्थिन्।
    ‘सेनाले चिनेर मार्ला भनेरै म रित्ता खुट्टा र कपाल फुकाएर बहुलाई आइमाईजस्तो हिँड्थेँ,’ १२ वर्षअघिको संघर्ष सम्झँदै देवीले भनिन्।
    तत्कालीन प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले मुटु बिझ्ने गरी भनेको कुरा उनलाई अहिलेसम्म झल्झल्ती याद छ। उनले भनेका थिए, ‘तिम्री छोरीलाई सेनाले बलात्कार गरेर मारिसक्यो, अब छोरी खोजेर नबस, बरु छोरा जोगाऊ, जाऊ घर।’
    राज्यका जिम्मेवार अधिकारीबाट न्यायको लडाइँमा साथ दिनुको साटो यस्तो ‘तुच्छ’ बोली सुन्दा देवीलाई मुटुमा फलामको किला गडेजस्तो भएको थियो। आफ्नो आत्मसम्मानमाथि मजाक गरिएजस्तो लागेको थियो।
    राज्यको कान मात्र हैन, मनै पो टालिएछ भन्ने उनले पहिलोचोटि महसुस गरिन्।
    उनले त्यही बेला मुटु दह्रो पारेर मनमनै भनेकी थिइन्– मैनाका हत्यारालाई जोगाउन सिंगो राज्य नै लागे पनि म लडिरहनेछु, आफ्नो सास रहेसम्म।
    उनी त्यसपछि कहिले प्रहरीकहाँ गएर सोध्थिन्, ‘मेरी छोरी खोई ?’
    कहिले सेनासँग सोध्थिन्, ‘मेरी छोरी खोई ?’
    कहिले संसारभरका मानवअधिकारवादीसँग पुकार गर्थिन्, ‘मेरी छोरी खोई ?’
    अहिले उनको प्रश्न न्यायालयसँग छ, ‘के मेरी छोरीको हत्या भएको होइन? होइन भने उनी कसरी मारिइन्? हो भने मेरी छोरीलाई मार्नेहरू छाती फुकाएर घुमिरहेका छन्, उनीहरूले सजाय कहिले पाउने? के गरिबको भागमा बाँच्ने अधिकार पनि हुन्न? न्याय पाउने अधिकार पनि हुन्न? हुन्छ भने म मेरी छोरीका हत्याराहरूले कानुनसामु घुँडा टेकेको हेर्न चाहन्छु, ताकि भोलि कोही पनि शक्तिको मातमा यस्तरी नमात्तिऊन् कि मान्छेलाई मान्छे नै देख्न छाडुन्!’
    यसबीच देवी खरेलथोकको घर छाडेर बनेपा बस्न थालिन्। पछि काठमाडौं नै आइन्। गाउँबाट सेनाले खोजेको खोज्यै छ भन्ने खबर आइरहन्थे। एक मुठ्ठी सास पनि लिन्छन् कि भन्ने त्राहीत्राही थियो उनलाई जतिखेरै।
    यति हुँदाहुँदै सन्तोष मान्नुपर्ने कुरा के भने, सेना र माओवादीबाट भएका कति हत्या र अपहरणको खबरले भञ्ज्याङ काट्न नसक्ने त्यो घडीमा मैनालाई सेनाले लगेको घटनासँग संसारै अवगत भइसकेको थियो। मानवअधिकारवादीहरू उनका साथ थिए।
    यही दबाबकै कारण घटनाको पाँच महिनापछि तत्कालीन प्रधानसेनापति प्यारजंग थापा मानवअधिकारवादीसहित देवीलाई पुरानो बानेश्वरको द्वारिका होटलमा भेट्न तयार भए।
    ‘मेरी छोरी फिर्ता देऊ,’ देवीले प्रधानसेनापतिलाई भेट्नेबित्तिकै सोधिन्।
    ‘तिम्री छोरी उहिल्यै मारिएको हो,’ प्रधानसेनापतिले पहिलोचोटि सकारे, ‘तिमीलाई थाहा छैन र? सेनाले लासै फिर्ता दिइसकेपछि किन फेरि छोरी खोज्छौ?’
    देवीको मुटुमा गाँठो पर्यो।
    प्रधानसेनापतिकै मुखबाट यति सुनिसकेपछि उनलाई अब छोरी जिउँदो फर्किनन् भन्ने पत्याउन करै लाग्यो।
    ‘मलाई मेरी छोरी बाँचे–मरेको त थाहा छैन, उसको लास कसरी भेट्नु?’ प्रधानसेनापति थापालाई यति भन्दा उनको मुटुको गाँठो आँखाबाट झर्न बेरै लागेन।
    ‘म बुझेर खबर गर्छु,’ प्रधानसेनापतिले भने।
    सेनाले उक्त घटना छानबिन गर्न ‘कोर्ट–अफ–इन्क्वायरी’ गठन गर्यो। एकदिन फेरि उनले खबर पाइन्, सेनाले मैनाको हत्या गैरन्यायिक भएको ठहर गर्दै महासेनानी बबी खत्री तथा सह–सेनानीहरू सुनिलप्रसाद अधिकारी र अमित पुनलाई ६ महिना कैद, जनही ५० हजार जरिवाना र बढुवा रोक्काको फैसला गर्यो।
    छोरीको हत्याको बदलामा यति झिनो सजायले देवीको मन झनै विचलित बनायो।
    ‘आफ्नी छोरीलाई यातनापूर्वक मार्नेहरूलाई त्यति सजिलै छाड्न हुन्न भन्ने भैहाल्यो मलाई,’ देवीले भनिन्, ‘नागरिक अदालतले सजाय दिनुपर्छ भनेर म प्रहरीकहाँ गएँ।’
    प्रहरीले बल्लतल्ल जाहेरी त लियो, तर अनुसन्धान फटाफट गरेन। यसबीच अन्तर्राष्ट्रिय मानवअधिकारवादीहरूको रोहवरमा प्रहरीले पाँचखालको सैनिक केन्द्रमा मैनाको शव उत्खनन् गर्ने भयो।
    देवी पनि सँगै गइन्।
    सेना र प्रहरीले जब मैना गाडिएको ठाउँबाट माटो झिक्थे, देवीको मनमा आँधी चल्थ्यो। छोरीका लागि भरिएको संवेदनाको कमलो भाग मानौं झन्झन् तरल हुँदै थियो। पीडाले उनलाई फतक्कै गलाउँथ्यो। आँखाबाट एकतमास आँसुका दाना झरिरहेका थिए। छातीभित्र छोरीमाथि भएको अन्यायविरुद्ध ज्वार उठिरहेको थियो। ममता, पीडा र आवेगको त्यो आँधीमय पल सम्झिँदा पनि अहिले उनलाई डर लाग्छ।
    ‘त्यो सब भोग्ने मै थिएँ जस्तो लाग्छ,’ उत्खननको दिन सम्झेर उनका आँखा भरिए, ‘मलाई त छोरीको सास चाहिएको थियो, तर हड्डी मात्र फेला पारेँ। मार्ने जति निर्दयी भए पनि गाड्ने मानिसले भने जतनले गाडेछ, मासुबाहेक सबै दुरुस्तै थिई।’
    मैनाले बन्दुकै उठाएकी भए पनि उनको कंकाल देख्दा देवीलाई उति पिर हुने थिएन, कसैप्रति गुनासो रहने थिएन।
    ‘मेरी छोरीले बन्दुक उठाउन त के, छोएकीसम्म थिइन। ऊ त निहत्था थिई, भर्खरै १४ वर्ष लागेकी थिई। आफ्नै लागि सपना पनि देख्न जानेकी थिइन बरा! त्यस्ती निरपराध बच्चीलाई कसरी मार्न सकेको! के द्वन्द्व छ भन्दैमा सेनाले जसलाई पनि मार्ने अधिकार पाउँछ!’ देवीले भनिन्, ‘मैले कसरी सहनु छोरीमाथिको अन्याय? उसको रगतको मूल्य त ती हत्याराहरूले चुकाउनैपर्छ।’
    उनी त्यसपछि अनुसन्धान अघि बढाएर मुद्दा दायर गर्न आदेश माग्दै सर्वोच्च अदालत गइन्। सर्वोच्चले उनले मागेकै आदेश दियो।
    घटनाको पाँच वर्षपछि २०६५ मा मात्र यो मुद्दा अदालत पुग्यो। तर, अदालतमा विपक्षी उपस्थित नभएपछि २०७० सालमा मुल्तवी राखियो।
    अहिले आएर काभ्रे जिल्ला अदालतको आदेशपछि मुद्दा फेरि ब्युँतिएको छ।
    देवीको मनमा अदम्य साहस छ, अपराधीलाई जेल पुर्याउँछु भन्ने। ‘म जसरी पनि न्याय पाएरै छाड्छु,’ उनले भनिन्, ‘सरकारले हामीलाई न द्वन्द्वपीडितजस्तो व्यवहार गरेको छ न त सामान्य मानिसलाई जस्तो न्याय दिएको छ, तर सास रहेसम्म म पछि हट्नेवाला छैन।’
    …
    मैनालाई सेनाले लगेको भोलिपल्टदेखि खरेलथोकको घर छाडेकी देवी अचेल काठमाडौंमै बस्छिन्।
    पहिले त डरमर्नु थियो, पति र छोराहरूलाई बास सार्दै–लुकाउँदै हिँड्नुपर्थ्यो। २०६५ सालमा उनका पतिको निधन भयो।
    उनले छोरीको नाममा एउटा संस्था खोलेकी छन्, जसले अन्यायमा परेका बालबालिकालाई सहयोग गर्ने, न्यायका लागि लड्न सिकाउनेजस्ता सामाजिक काम गर्दै आएको छ।
    ‘बच्चाबच्ची खुसी भए आफ्नै छोरीलाई केही गरेँ जस्तो महसुस हुन्छ,’ उनले भनिन्, ‘म बाँचुञ्जेल मैनाको नाममा बालबालिका र महिलाहरूलाई सकेको सहयोग गरिरहन्छु। उसलाई पनि मैलेजस्तै समाजसेवा गर्ने मन थियो।’
    सानैदेखि मैना भन्थिन् रे– ‘म पनि तपाईं जस्तै बन्ने हो आमा!’
    देवीले भने अर्कै सपना देखेकी थिइन्।
    उनी छोरीलाई ‘हिरोनी’ बनाउन चाहिन्थिन्।
    मैना तीनचार कक्षातिर पढ्दा देवी काठमाडौं आएकी थिइन्। त्यही बेला उनले पहिलोपटक सिनेमा हेरेकी थिइन्। सिनेमाकी कलकलाउँदी हिरोइनलाई देखेर उनलाई आफ्नी छोरीको याद आएछ। र, मनमनै भनिछन्, ‘म मेरी छोरीलाई यस्तै हिरोनी बनाउँछ।’
    उनले हिरोइन बनाउने सपना देखेकी छोरी बितेको १२ वर्ष भइसक्यो। मुल्तवी परेको मुद्दा ब्युँतिएपछि उनलाई फेरि आस जागेको छ।
    देवीको जिन्दगीका अब दुइटा मात्र उद्देश्य छन् :
    मैनालाई न्याय दिलाउने ।
    र, मैनालाई हुर्काउने–बढाउने ।
    दोस्रो उद्देश्य वैशाख १२ को भुइँचालोपछि पलाएको हो।
    देवीले एकदिन बाटोमा एक गर्भवती युवती रोइरहेकी भेटिन्। माइती नेपालमा पुर्याइदिनुपर्ला भन्दै घर ल्याइन्। भोलिपल्ट युवतीले छोरी जन्माइन्। एक महिनापछि छोरीलाई देवीकै काखमा छाडेर ती युवती बेपत्ता भइन्।
    अकस्मात आइलागेको काखेबच्चा सम्झेर उनी घरिघरि चकित पर्छिन्। काममा हिँड्नुपर्दा बच्चाले अल्झाउँछ। दिक्क पनि लाग्छ। उत्तिन्खेरै उनको मनले आफैंलाई गाली गर्छ।
    ‘धत्! किन यस्तो झिजिएको। यो त तेरै मैना हो नि!’ उनको मनले आफैंलाई सम्झाउँछ, ‘सायद भगवानले मैनालाई पुनर्जन्म दिएर फेरि मेरो काखमा पठाएका हुन्। अब मैनाको न्यायका लागि लड्ने मात्र होइन, पुनर्जीवन पाएर मेरो काखमा आइपुगेकी यी मैनालाई हुर्काउने–बढाउने पनि मेरो उद्देश्य हो।’
    यसो भनिरहँदा देवीको काखमा मैना मुसुक्क हाँसिरहेकी थिइन्।
    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, माघ ०३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    सुन ताेलामा ४८ सयले घट्याे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • २. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ३. सुन ताेलामा ४८ सयले घट्याे

    • ४. आज कुशे औँसी

    • ५. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.