गाेरखा। नेपालमा हाल मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित रहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली भागमा साधारणतया बादल लागेको छ । त्यस्तैगरी, पहाडी भागमा आंशिक बादल लाग्नुका साथै तराई भागमा भने मौसम मुख्यतया सफा रहेको छ ।
अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।
सोमबार देशभर आंशिक बादल लाग्ने अनुमान गरिएको छ । देशका हिमाली र पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै स्थान तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।


