गाेरखा । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ ।
शुक्रबार बिहान जारी गरिएको विशेष बाढी पूर्वानुमान बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कन्काई, कमला र यी नदीका सहायक नदीहरूमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।
आज बिहानको मापन अनुसार पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव भने सतर्कता तहभन्दा तलै रहेको छ । आज र भोलि देशका धेरैजसो प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान छ ।
महाशाखाका अनुसार आज सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी लगायत कोशी बेसिनका नदीहरूमा जलसतह उल्लेख्य बढ्नेछ ।
यसैगरी, गाेरखाकाे बुढीगण्डकी सहित नारायणी, त्रिशुली, मर्स्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, महाकाली, बागमती र पूर्वी राप्तीमा पनि आज पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । तिनाउ, बाणगंगा, पश्चिम राप्ती र बबईमा भने आज सामान्य बढ्ने र भोलि असोज १० गते उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।
स-साना नदीहरूमा आउन सक्ने आकस्मिक बाढीको जोखिमलाई हेर्दा आज देशका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरु बढी प्रभावित हुने देखिएको छ । महाशाखाले जारी गरेको बुलेटिनमा स्पष्ट पारिएको छ,‘गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।’
यसबाहेक पूर्वको ताप्लेजुङदेखि पश्चिमको बैतडीसम्मका अन्य दर्जनौँ जिल्लाहरूमा बहने स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।
भोलि आकस्मिक बाढीको उच्च जोखिम अझै धेरै जिल्लाहरूमा फैलिने महाशाखाले जनाएकाे छ । गाेरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर आसपासका नदीमा बाढीको उच्च जोखिम रहने पूर्वानुमान छ ।
पर्सि असोज ११ गते पनि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सावधानी अपनाउन आवश्यक देखिन्छ ।




