गाेरखा । देशभर हाल मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा एउटा न्यून चापीय प्रणाली बनेको छ । उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ ।
हाल देशका विभिन्न भागको मौसममा बदली आएको छ । कोशी र बागमती प्रदेशका सबै भूभागका साथै गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा बादल लागेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहँदा मधेस प्रदेशमा आंशिक बदली भएको छ ।
देशका बाँकी भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएकाे छ । अहिले कोशी र बागमती तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा वा हिमपात हुनसक्ने पनि महाशाखाले जनाएकाे छ ।
आजै राती मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भागका केही स्थानमा वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने अनुमान गरिएकाे छ ।
विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



