गाेरखा । नेपालमा पश्चिमी वायुको प्रभाव सुरु भएको छ । मनसुनी वायु बाहिरिने मिति नजिकिँदै गर्दा देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव सुरु भएको मौसम पूर्वानुमान महाशाखा जनाएकाे छ ।
महाशाखाका अनुसार यही असोज १ देखि देशको पश्चिमी भेगबाट पश्चिमी वायुको प्रभाव पर्न थालेको हो ।
मनसुनी वायुसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको पनि आंशिक प्रभाव सुरु भएको महाशाखाले जनाएकाे छ । योसँगै तापक्रम पनि क्रमश: घट्दै जानेछ ।
देशका कतिपय स्थानमा तापक्रम केही कम भइसकेको छ भने कतिपय स्थानमा यथावत् नै रहेकाे छ ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात असाेज १६ गते हो । याे हिसाबले अब मनसुन अवधि समाप्त हुन करिव करिव २ साता मात्र बाँकी छ । यद्यपि यो सरदर मिति भएकाले यसभन्दा केही दिन अघिपछि मनसुन बाहिरिन्छ ।
नेपालमा मनसुन भित्रिने औसत मिति भने जुन १३ तारिख अर्थात जेठ ३० गते हो । याे वर्ष भने यो मितिभन्दा ६ दिन ढिला जुन १९ तारिख (असार ५ गते) कोसी प्रदेशबाट प्रवेश गरेको मनसुन क्रमश: फैलिँदै जुन ३० तारिख (असार १६ गते) सुदूरपश्चिम प्रदेशसम्म पुगेको थियो ।
नेपालमा मनसुन अर्थात् बर्खा ४ महिना- जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ ।
मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ । यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ ।
डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ । विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ ।
अनि मार्च १ देखि प्रि-मनसुन लाग्छ । प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ ।
यद्यपि मनसुन नभित्रिँदासम्म प्रि-मनसुन नै रहेको मानिन्छ । मनसुन सुरु भएपछि यो सिजन अन्त्य हुन्छ ।
मौसमविद्हरुका अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ ।


