गाेरखा । देशभर हाल मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका केही स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको तराई भागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
आजै राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा, बागमती प्रदेशका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको तराई भागका केही, मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


