गाेरखा । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहानसम्म देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ ।
कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल नियन्त्रणमै रहेको छ ।
यद्यपि, आगामी ३ दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान गरिएको छ ।
आज भदौ ३१ गतेदेखि असोज २ गतेसम्म कोशी नदी जलाधारअन्तर्गतका सप्तकोशी (चतरा), तमोर (त्रिवेणी), अरुण (सिम्ले), दुधकोशी (रभुवाबजार), तामाकोशी (बुस्ती) र सुनकोशी (हम्पुचुवार) मा जलसतह उल्लेखनीय रूपमा बढ्नेछ ।
त्यसैगरी नारायणी नदी (देवघाट), त्रिशुली (बेत्रावती), बुढीगण्डकी (आरुघाट, गाेरखा), मर्स्याङ्दी (विमलनगर), सेती (दमौली) र कालिगण्डकी (कुमालगाउँ) मा पनि आगामी ३ दिनसम्म जलसतह निरन्तर बढ्ने जनाइएको छ । महाकाली नदी (पारिगाउँ) मा ३ दिन जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना छ ।
कर्णाली जलाधारका कर्णाली (चिसापानी), कर्णाली (असाराघाट), भेरी (समजिघाट) र पश्चिम सेती (दिपालय) मा आगामी ३ दिनसम्म जलसतह सामान्य रूपमा बढ्ने पूर्वानुमान छ । कन्काई (मैनाचुली), कमला (वेलसोत), पश्चिम राप्ती (कुसुम) र बबई (चेपाङ) नदीहरूमा पनि आगामी ३ दिन सामान्य रूपमा जलसतह बढ्नेछ ।
बागमती (पधेरादोभान) र पूर्वी राप्ती (रजैया) मा आज जलसतह उल्लेख्य रूपमा बढ्ने भए पनि भोलि र पर्सि सामान्य मात्र बढ्ने अनुमान छ ।
आज ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ ।
भोलि असोज १ गते सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेश भई बहने केही स-साना नदीहरूमा र असोज २ गते कोशी तथा मधेश प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




