गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसकाे प्रभावले अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशको केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज कोशी र बागमती प्रदेशका हिमाली भागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
त्यस्तैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने महाशाखाले बुलेटिन मार्फत जनाएकाे छ ।
आजै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



