गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावनाकाे पनि महाशाखाले जनाएकाे छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका धेरै स्थानमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा र सुदूरपश्चिम प्रदेशका तराई भागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेस प्रदेशको तराई भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
आजै राति देशको हिमाली भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको पहाडी भागका केही स्थानमा र तराई भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।



