गाेरखा । भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । काउन्सिलले त्यस्ता सामग्री हटाउन सम्बन्धित सञ्चारमाध्यमलाई निर्देशनसहित सचेत गराएको छ ।
काउन्सिलले बाढीसम्बन्धी कुल २४ वटा सामग्री अनुगमन गरिएको थियो । तीमध्ये १४ वटा दर्ता भएका सञ्चारमाध्यम र १० वटा दर्ता नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री थिए । अनुगमन गरिएका २४ मध्ये २१ वटा सामग्री पत्रकार आचारसंहिता प्रतिकूल रहेको काउन्सिलले जनाएको छ ।
काउन्सिलका अनुसार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने माध्यमलाई फोन, म्यासेन्जर तथा पत्रमार्फत निर्देशन र ध्यानाकर्षण गराइएको छ । अधिकांशले काउन्सिलको निर्देशनपछि त्यस्ता सामग्री सम्पादन वा हटाएका छन् ।
अनुगमनका क्रममा बाढी तथा उद्धारसँग सम्बन्धित भन्दै अन्य देशका पुराना भिडियो तथा असम्बन्धित दृश्यलाई नेपालमा भएको घटनाका रूपमा प्रस्तुत गरिएको पाइएको छ ।
विशेषगरी नेपाली सेनाले रसुवा बाढीमा उद्धार गरिरहेको, चिनियाँ टोलीले सुरुङमा फसेका नागरिकको उद्धार गरिरहेको तथा गृहमन्त्री उद्धारमा खटिएको भन्दै गलत भिडियो तथा सामग्री सामाजिक सञ्जालमा प्रसारण गरिएको काउन्सिलको विवरणमा उल्लेख छ ।
काउन्सिलको अनुगमनमा अनलाइनखबर डटकममा प्रकाशित सामग्रीसमेत आचारसंहिता प्रतिकूल रहेको जनाएको छ । ‘सातौँ दिनमा सरकारले आयोजनाहरूलाई भन्यो– सुरुङबाट उद्धार गर्न सकेनौँ, आफैँ गर’ जस्तो शीर्षकबाट अन्योल, भ्रम तथा त्रास उत्पन्न हुने सामग्री सम्प्रेषण भएको काउन्सिलको ठहर छ ।
उक्त सामग्रीको शीर्षकपछि सम्पादन गरिए पनि सम्पादन नगरिएको ‘ग्राफिक्स’ सामाजिक सञ्जालमा अन्यत्रबाट सेयर भइरहेको पाइएको काउन्सिलले जनाएको छ ।
अनुगमनमा फेवा खबर, ई–मधेस, दृष्टि सञ्चार, पुलेसो टिभी, इच्छाकामना एफएम चितवन, सेतो खबर, स्टेट ७ खबर, द रिम अनलाइनलगायतका माध्यमबाट पनि आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण भएको उल्लेख छ ।
तीमध्ये केहीले नेपाली सेनाले रसुवाको बाढीमा उद्धार गरिरहेको भन्दै अन्य देशका भिडियो प्रयोग गरेका थिए । केही माध्यमले बाढीका कारण एक व्यक्ति मानसिक समस्यामा परेको भन्दै नेपाली सेनाले देखाएको पुरानो ‘डेमो’ भिडियोलाई बाढीको पछिल्लो घटनासँग जोडेर सम्प्रेषण गरेका थिए ।



