गाेरखा । आज त्रिशूली नदीमा आएकाे बाढीले धादिङको गल्छीमा ४ वटा घरहरू बगाएका छन् ।
आइतबार बिहान रसुवातर्फ भोटेकोशी नदीसँगै त्रिशूलीसम्म बाढीको बहाब बढ्दा ४ वटा घरहरू बगाएको हाे ।
गल्छी गाउँपालिका-४ का वडाध्यक्ष राजु अधिकारीका अनुसार गल्छी-४ चिरौँदीमा नदी तटीय क्षेत्रमा रहेका घरहरू बगाएका हुन् ।
स्थानीय कर्णबहादुर मगरको पक्की घर र रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको ब्लकले बनेको घर बगाएको उनले बताए ।
सोही स्थानमा रहेकाे विष्णुबहादुर मगरको घर पनि जोखिममा परेको उनले जानकारी दिए । तटीय क्षेत्रमै रहेको रामशरण राई र श्यामलाल श्रेष्ठको घर पनि नदीको बहाब बढेसँगै जोखिममा रहेको वडाध्यक्ष अधिकारीले बताए ।



