गाेरखा । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको हाे ।
दुवै जनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको शुक्रबार राति र छोरीको शनिबार बिहान मृत्यु भएको हो ।
स्थानीय कमल दाहाल स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए । भारी वर्षाका कारण सडकमा भेल बढेपछि उनले हर्कचोकमा स्कुटर रोकेका थियो । स्कुटरबाट झर्ने क्रममा २ वर्षीया रानीकालाई भेलले बगाएर सडकको नालीमा पुर्याएको थियो ।
छोरीलाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुगेकी थिइन । लगत्तै आमाछोरी दुवैलाई बगाउँदै करिब २ किलोमिटर तल बिरौटासम्म पुर्याएको थियो ।
श्रीमान् कमलले हारगुहार गरेपछि स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए । आमाछोरीलाई पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो ।



