गाेरखा । देशका विभिन्न भागमा शनिबार बिहानैदेखि वर्षा भइरहेको छ ।
बिहान ४ः४० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, सिन्धुपाल्चोकको दुवाचौर मौसम मापन केन्द्रमा सबैभन्दा धेरै १९.६ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रहरू र आसपासका भागमा थप वर्षा हुने सम्भावना रहेको छ ।
वर्षा जारी रहेका क्षेत्रहरूमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले आवश्यक सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।



