गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको पनि महाशाखाले जनाउकाे छ ।
जसका कारण हाल मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल देखी मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भागका धेरै स्थान कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भागका केहि स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै स्थान, मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केहि स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भागका थोरै स्थान साथै बागमती प्रदेशको पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
आजै राति देशका हिमाली र पहाडी भागका केहि स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशको तराई भागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




















