गाेरखा । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान करिब ५:३० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-१३, सुनसरीका थमन राई (कार चालक), मानेभन्ज्याङ गाउँपालिका-५, ओखलढुङ्गाका जीवनी राई (कारमा सवार), कटहरी गाउँपालिका-३, मोरङका अमर कामत (मोटरसाइकल चालक) र कटहरी गाउँपालिका-३, मोरङका शंकर चौधरी (मोटरसाइकलमा पछाडि सवार) रहेकाे सुनसरी प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार, बराहक्षेत्र नगरपालिका-१ स्थित गुप्त बराह–चतरा भित्री सडक खण्डमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।
सोही क्रममा बराहक्षेत्रबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा २२ वटा प्लास्टिकका पोकामा लुकाइराखेको ४१८ किलो गाँजा फेला परेको हो ।
पक्राउ परेका व्यक्तिहरू, गाँजा र दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको प्रहरीले जानकारी दिएकाे छ ।




















