गाेरखा । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ः०० बजे बस्दै छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने तथा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ पेस हुने कार्यसूची रहेको छ ।
यसैगरी, आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ । सांसद आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनःस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने मागसहितको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उक्त प्रस्तावमा सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिँदै उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुमवासीलाई यथाशीघ्र लालपूर्जा वितरण गर्नुपर्ने विषयहरू समेटिएका छन् । यस प्रस्तावको समर्थकमा सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई छन् ।




















