गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
देशका पहाडी भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश तथा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भागका तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईको केही स्थान, मधेस प्रदेश लुम्बिनी प्रदेशका तराईका केहि स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी कोशी प्रदेशको पहाडी र तराई भाग साथै बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।




















