गाेरखा । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय सार्वजनिक गरेको छ ।
बैठकले विभिन्न ९ वटा विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिनुका साथै प्रशासन, सहकारी, प्राविधिक शिक्षा र अनुसन्धानसँग सम्बन्धित निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा, खानी तथा खनिज पदार्थ, सङ्क्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण), बालश्रम (निषेध तथा नियमित गर्ने), आन्तरिक वायुसेवाको दायित्व, मेलमिलाप सम्बन्धी ऐन तथा कर्मचारी सञ्चयकोष ऐन संशोधनसम्बन्धी गरी नौ वटा विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ ।
बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गरिएको छ।
मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई पनि स्वीकृत गरेको छ।
बैठकका मुख्य निर्णयहरू :
(क) संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक
(ख) खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
(ग) सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
(घ) राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
(ङ) मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक
(च) बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधेयक
(छ) आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
(ज) मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक
(झ) कर्मचारी संचयकोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक




















