गाेरखा । सङ्घीय संसद् प्रतिनिधि सभा बैठक आज बिहान ११:०० बजे बस्दै छ । आजको बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेस गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल हुने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ३ वटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची छ ।
मन्त्री गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नेछिन् ।
यस्तै, व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३” माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) सँग सम्बन्धित २ विषयहरू पेस गर्नेछन् ।




