गाेरखा । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो ।
नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ भने अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ ।
मन्त्रालयका अनुसार विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्नसक्ने भएकाले उद्धार, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।



