गाेरखा । देशभरमा हाल मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ ।
जसका कारण देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली भागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ । देशका पहाडी भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा, मधेस प्रदेशका साथै कोशी प्रदेशका तराई भागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागको धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । तराई भागका धेरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशका तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।



