गाेरखा । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागमा साधरणतया बादल लागेको छ । मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका पहाडी र हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केहि स्थान तथा मधेस प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ । मधेस प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भागका केहि स्थानमा हावाहुरीको सम्भावना छ ।
राति देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागका साथै सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थान तथा मधेस प्रदेशका साथै गण्डकी प्रदेशको पहाडी र तराई भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



