गाेरखा । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
मध्यपहाडी राजमार्गअन्तर्गत शुक्रबार साँझ करिब ६ः५० बजे दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको अछाम प्रहरीले जानकारी दिएकाे हाे ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिका बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसघारी नगरपालिका–५ का ४५ वर्षीय राम प्रकाश थारुको शनिबार बिहान ज्यान गएको प्रहरीले पुष्टी गरेकाे हो ।
सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ५ः३० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा सिराहा जिल्ला, कल्याणपुर नगरपालिका–१० निवासी २७ वर्षका सन्त कुमार साह, बाँके, नेपालगञ्ज निवासी जीप चालक समेत रहेका २८ वर्षका राज राजेन्द्र भिमराज चट्टान गुप्ता र स्याङ्जा, फेदीखोला गाउँपालिका–४ निवासी अर्जुन कुमार पौडेल घाईते भएको पनि प्रहरीले जनाएकाे छ ।
जीप थापामोडबाट कुँजेडातर्फ जाने कच्ची सडकमा खसेको थियो ।



