गाेरखा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ ।
कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ र तराईमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, कोशी तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भागका केही स्थानहरूमा तथा तराईका १-२ स्थानमा मेघगर्जन सहित चट्याङ तथा मध्यमसम्म वर्षा एवं हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भागका केही स्थानहरूमा तथा तराईका १-२ स्थानमा मेघगर्जन सहित चट्याङ तथा मध्यम वर्षाको सम्भावना रहेको छ ।



