गाेरखा । आज पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैकाे प्रभावले अहिले देशको हिमाली र पहाडी भागमा साधरणतया बादल बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । साथै गण्डकी प्रदेशका केही स्थानमा हल्का पानी परिरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्ने र तराई भागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेशको धेरै स्थानहरूमा र मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको भागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेशको हिमाली र पहाडी भाग तथा गण्डकी प्रदेशको पहाडी भागको केही स्थानमा चट्याङ्ग सहित भारी वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।



