गाेरखा । नेपालको हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । जसका कारण मौसमी प्रणालीमा आएकाे परिर्वतनले देशकाे पहाडी भेगमा वर्षा र हिमपात तथा तराइमा गर्मी बढ्न सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ । सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका साथै कोशीको तराई भागमा पनि आंशिक बादल लागेको छ ।
यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ । देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहेको देखिन्छ ।
सोमबारको मौसम पूर्वानुमान हेर्दा कोशी प्रदेश लगायत अन्य पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ । तराईका भागमा पनि आंशिक बदलीको सम्भावना छ ।
कोशी र गण्डकीका पहाडी र हिमाली क्षेत्रका साथै बागमती र लुम्बिनी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
यता पहाडमा वर्षाको सम्भावना रहँदा तराई र बेसी क्षेत्रमा भने गर्मीले जनजीवन प्रभावित पार्ने देखिएको छ । मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरू, उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ ।
बढ्दो तापक्रम र तातो हावा चल्न सक्ने भएकाले यी क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।



