गाेरखा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा आज पहाडमा बर्षा र तराईमा गर्मी बढ्ने संम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेकाे छ भने तराईका जिल्लाहरूमा टन्टलापुर घाम लागेकाे छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ । गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा समेत भइरहेको छ । अन्य पहाडी भेगमा आंशिक बादल लागे पनि तराई क्षेत्रको मौसम भने सामान्यतया सफा छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । यी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाकाे संम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भागका केही स्थानमा समेत हल्का हिमपातको संम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
पहाडमा वर्षाको सम्भावना रहँदा तराई र भित्री मधेसमा भने गर्मी बढ्ने छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्दा जनजीवन प्रभावित हुन सक्ने देखिन्छ ।




















