गाेरखा । नयाँ वर्ष २०८३ सालको पहिलो दिन आज देशैभरको मौसम सामान्यतयाँ सफा रहेको छ ।
तराई क्षेत्रको मौसम पनि भोलिसम्म सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भागका केही ठाउँमा दिउँसोपछि हल्का वर्षा तथा हिमपातको सम्भावना रहे पनि ठूलो वर्षाको सम्भावना भने छैन ।
कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ । दिउँसो भन्दा राति मौसमी गतिविधि केही सक्रिय हुने अुनमान छ ।
राति विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
यस्तै कोशी प्रदेशको पहाडी भागसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली र बाँकी पहाडी भागमा आंशिक बदली हुने महाशाखाको अनुमान छ ।
भोलि पनि कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा र अन्य हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलिसम्म हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



