गोरखा । गृहमन्त्री सुधन गुरुङ र नेपालस्थित स्वीट्जरल्यान्डका राजदूत डा।डानिएल मैवलीबिच भेटवार्ता भएको छ ।
हिजो गृहमन्त्रालयमा भएको भेटवार्तामा मन्त्री गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखेरनराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।
भेटमा राजदूत डानिएलले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिन् । राजदूत डानिएलले २ सरकारबिच आप्रवासन मामिलाहरूमा सहकार्य गर्ने विषय उठाइन् । गृहमन्त्री गुरुङले उक्त विषय हाल छलफलमा रहेको बताए ।
साथै नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार लगायतका कसूरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैङ्कमा जम्मा गरे नगरेको विषयमा अनुसन्धानका लागि २ देशबिच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गुरुङले राजदूतसमक्ष अनुरोध गरे ।
विपद् व्यवस्थापनको क्षेत्रमा गृहमन्त्रीको १ दशक भन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेकोप्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवम् विपद् जोखिम न्यूनीकरणका लागि पूर्व चेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गृहमन्त्री र नेपालका लागि स्वीस राजदूतले २ देशबिचको ऐतिहासिक सम्बन्धलाई थप सुमधुर तथा सुदृढ परस्पर सहकार्य गर्न तत्पर रहेको धारणा व्यक्त गरे ।



