साँकेतिक तस्बिर
गाेरखा । रुपन्देहीमा गएराती लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले चलाएको छ । गोली लागेर १ जना घाइते भएका छन् ।
गाेली लागेर रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव घाइते भएकाे प्रहरीले जनाएकाे छ । उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ । उनकाे हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार ३ जनालाई रोक्न खोजिएको थियो । तर उनीहरू भाग्न खोजेपछि प्रहरीले पछ्याएको थियो ।
भाग्ने क्रममा मोटरसाइकलबाट लडेका युवाहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले १ राउन्ड हवाई फायर गर्दै थप २ राउन्ड गोली चलाएको जनाएको थियाे । सोही क्रममा यादव घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले घटनास्थलबाट विशाल यादवसहित भारत महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको जनाएकाे छ ।
पक्राउ परेकाहरूको साथबाट फेनारगन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएकाे छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।



