गाेरखा । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भागमा साधरणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो देशको हिमाली भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने पनि महाशाखाले जनाएकाे छ ।
आजै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना पनि महाशाखाले जनाएकाे छ ।
सुदूरपश्चिम प्रदेशका तराई लगायत बाँकी हिमाली र पहाडी भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति देशको पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भाग लगायत बाँकी प्रदेशको हिमाली भागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।



