गाेरखा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका-९ हनुमान मन्दिर नजिक सवारी दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेंडाबारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशा तर्फबाट जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई समेत ठक्कर दिएको थियो ।
आज बिहान ६:४५ बजेको समयमा भएको दुर्घटनामा ३ वटै गाडीका चालकहरु घाइते भएका छन् । अन्य ८–९ जना पनि सामान्य घाइते भएको र विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक रामेछापका ३२ वर्षीय इन्द्र तामाङ, बस चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० बस्ने ४१ वर्षीय मोहनसिंह बलामी मगर र हात्तीगाडी चालक चितवनको भरतपुर महानगरपालिका १२ वस्ने ३३ वर्षीय दर्शन काप्री घाइते छन् ।
हात्तीगाडी चालक काप्रीको छात्तीमा चोट छ । बस र ट्रक चालकहरुको भने दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
बसमा सवार केही यात्रुहरु समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।






