गाेरखा । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गैरीबहादुर कार्कीलाई धम्की आएको छ । अज्ञात व्यक्तिहरुले धम्की दिएको उनले सरकारलाई जानकारी गराएका छन् ।
धम्की लगत्तै भक्तपुरको गुण्डुस्थित कार्कीको निवासमा सुरक्षा सतर्कता बढाइएको छ । उनलाई भक्तपुरबाट अन्यत्र सुरक्षित स्थानमा राख्नेबारे छलफल गर्न काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक समेत डाँकिएको छ ।
उनलाई कहाँ राख्ने भन्नेबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्ने छ ।
कार्कीलाई सेना वा सशस्त्र प्रहरीको ब्यारेकमा राख्ने विकल्पमा छलफल भइरहेको अनुमान गरिएकाे छ । कार्की नेतृत्वको आयोगको सिफारिसको आधारमा शनिवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन् ।



