गाेरखा । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको पनि महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



