गाेरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सानदार जित हासिल गर्दै ह्याट्रिक पूरा गरेका छन् । शनिबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै पुन: संसदको यात्रा तय गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत मात्रै पाइन् । लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ रहेको छ, जुन यो क्षेत्रको निर्वाचन इतिहासमै निकै शक्तिशाली अन्तर हो ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मतमा चित्त बुझाएका छन्। चितवन २ मा कुल ८७ हजार ०२८ मत गणना भएको थियो ।
यसअघि २०७९ सालको आम निर्वाचनमा लामिछानेले ३४ हजार २८१ मतान्तरले जित निकाल्दै ४९ हजार ३०० मत पाएका थिए। त्यसबेला उनले कांग्रेसका उमेश श्रेष्ठलाई पराजित गरेका थिए । तर, नागरिकता विवादका कारण पद गुमेपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि उनले ५४ हजार १७६ मतसहित भारी जित निकालेका थिए ।
उपनिर्वाचनमा कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका थिए । यसपटकको निर्वाचनमा लामिछानेले आफ्नै पुरानो रेकर्ड सुधार्दै मतान्तरलाई झण्डै ४० हजार पुर्याएका छन् ।




















