गाेरखा । रामेछापमा मतदान केन्द्रमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटना भएपछि जिल्ला निर्वाचन कार्यालयले २ वटा मतदान केन्द्रमा नयाँ चुनाव सामग्री र थप कर्मचारी पठाएको छ ।
रामेछाप नगरपालिका-२ मा रहेको सिरुवारी मतदानस्थलको क र ख मतदान केन्द्र तथा रामेछाप नगरपालिका–३ साँघुटारमा रहेको मतदानस्थलको क र ख मतदान केन्द्रका लागि चुनाव सामग्री र कर्मचारी बोकेको गाडी साेमबार दुर्घटनामा परेको थियो ।
दुवै मतदानस्थलमा नयाँ सामग्री र थप कर्मचारी पठाएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । कार्यालयका अनुसार दुर्घटना स्थलबाट मतपत्र, मतदाता नामावलीलगायतका सबै चुनाव सामग्री गएराति नै सकुशल अवस्थामा सङ्कलन भइसकेको छ ।
दुर्घटनामा साँघुटारको ख मतदान केन्द्रका मतदान अधिकृत ५७ वर्षीय डोरप्रसाद घिमिरे र प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको ज्यान गएको थियाे । दुर्घटनामा घाइते भएका ७ जनाको काठमाडाैंमा उपचार भइरहेको छ ।



