गोरखा । पोखरामा सुटकेसभित्र १ जना युवतीको शव भेटिएको छ । पोखरा महानगरपालिका–१७ चितेपानी भन्ने खोलाको पुलमुनि सुटकेसमा युवतीको शव भेटिएको हो ।
कपडाले बेरेको अवस्थामा सुटकेस देखेपछि आइतबार स्थानीहरूले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक (एसपी) नविन कार्कीले जानकारी दिए ।
सुटकेस खोलेर हेर्दा घाँटी काटिएको अवस्थामा युवतीको शव फेला परेको र पहिचान खुल्न नसकेको एसपी कार्कीले बताए ।
उनका अनुसार युवती अन्दाजी २३ देखि २५ वर्ष उमेरकी छन् । उनको साथबाट मेडिकल कार्ड फेला परेको छ । उक्त कार्डमा मनिषा विक लेखिएको छ ।
युवतीको शव पोस्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
युवती केही महिनाअघि मात्र एक पुरूषसँग पोखरा ड्यामसाइडकै एउटा घरमा कोठा भाडामा लिएर बस्ने गरेको खुलेको छ । उनीहरूले जापानी भाषा सिक्ने भनेर भाडामा बस्न थालेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
युवतीसँगै बस्ने भनिएका पुरूष फरार भएको पनि एसपी कार्कीले बताए ।



