गोरखा । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको निष्कर्ष निकालेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार ४२ जिल्लामा गरेको चुनावपूर्वको अनुगमनमा र्यालीमा बालबालिकाको सहभागिता, पत्रकारमाथि धम्की र कुटपीट, अनुमतिबिना चुनाव चिन्ह् र प्रचार सामग्रीको प्रयोग, सामाजिक सञ्जालको दुरुपयोग तथा मतदाताहरुमा अनुचित प्रभाव पार्ने प्रयास जस्ता आचारसंहिता उल्लङ्घनका घटना पाइएका छन् ।
आयोगले दलका नेता र उम्मेदवारबिचको सौहार्दता तथा सुरक्षा निकायको सतर्कतालाई भने सकारात्मक रूपमा लिएको छ ।
आयोगले सामाजिक सञ्जालको दुरुपयोग नगर्न र आचारसंहिताको पूर्ण परिपालना गरी चुनावलाई मानव अधिकारमैत्री बनाउन सबै पक्षलाई आग्रह गरेको छ ।



