एजेन्सी । इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि इरानले कडा प्रतिक्रिया जनाउँदै यसको बदला लिने चेतावनी दिएको छ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले खामेनीको हत्यालाई ‘भयानक अपराध’ को संज्ञा दिँदै यसले इस्लामिक जगत र शिया इतिहासमा नयाँ पाना थप्ने बताएका हुन् ।
राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा यो घटनालाई अनुत्तरित नछाडिने र अपराधीहरूलाई कडा सजाय दिइने स्पष्ट पारिएको छ । राष्ट्रपति पेजेस्कियानले सर्वोच्च नेताको बलिदानले अमेरिकी–जियोनिस्ट दमन र अपराधलाई जरैदेखि उखेल्ने दाबी गरेका छन् ।
उनले खामेनीको रगत एउटा गर्जिरहेको झरना जस्तै बग्ने र त्यसले अन्यायको अन्त्य गर्ने उल्लेख गरेका छन् । इरानले आफ्ना सम्पूर्ण शक्ति र दृढ संकल्पका साथै विश्वभरका इस्लामिक राष्ट्र र स्वतन्त्र मानिसहरूको समर्थनमा यस हत्याका योजनाकार र कार्यान्वयन गर्नेहरूलाई पछुतो गराउने प्रतिज्ञा गरेको छ ।
यो घटनाको शोकमा इरानमा ४० दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । साथै, राष्ट्रपतिले ७ दिनसम्म सार्वजनिक बिदा दिने निर्णय समेत गरेका छन् ।




















