गाेरखा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू-भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको पनि महाशाखाले जनाएकाे छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्ने पनि महाशाखाले जनाएकाे छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहने पनि महाशाखाले जनाएकाे छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।



