गाेरखा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू-भागको केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
तराई भूभागका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहने पनि महाशाखाले अनुमान गरेका छ ।
आज राति कोशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहने महाशाखाले जनाएको छ ।




















