एजेन्सी । इरान र अमेरिकाका अधिकारीहरूबीच आज स्विटजरल्याण्डमा वार्ताको तयारी भइरहेका बेला अमेरिकाले ‘यूएसएस अब्राहम लिंकन’ नामको विमानवाहक विनाशकारी युद्धपोत इरान नजिकै रहेको पुष्टि भएको समाचार सार्वजनिक भएको छ ।
वासिङ्टनले इरानको सैन्य कार्यक्रम र हालैका प्रदर्शनमाथिको दमनप्रति दबाब बढाइरहेका बेला यो समाचार सार्वजनिक भएको हो ।
उक्त विमानवाहक युद्धपोत जनवरीको अन्त्यतिर खाडी क्षेत्रमा पठाइएको बताइए पनि हालसम्म उपग्रह तस्वीरमा देखिएको थिएन । अहिले भने यो ओमानको तटबाट करिब ७०० किलोमिटर टाढा अरब सागर क्षेत्रमा देखिएको छ ।
सार्वजनिक रूपमा उपलब्ध युरोपेली सेन्टिनेल–२ उपग्रह तस्वीरले युद्धपोत ओमानको तटबाट करिब २४० किलोमिटर दूरीमा रहेको पुष्टि भएको बीबीसीले जनाएको छ ।
‘यूएसएस अब्राहम लिंकन’ले ३ वटा निर्देशित मिसाइल विनाशकसहित ‘क्यारियर स्ट्राइक ग्रुप’को नेतृत्व गरिरहेको छ । यसमा करिब ९० वटा विमान छन्, जसमा एफ–३५ लडाकु विमानसमेत छन् । र, ५ हजार ६८० जना सैनिक सवार छन् ।
यसैबीच, विश्वकै ठूलो युद्धपोत मानिने USS Gerald R. Ford लाई पनि मध्यपूर्व पठाइएको खबर सार्वजनिक भएको छ । यो युद्धपोत आगामी ३ साताभित्र उक्त क्षेत्रमा पुग्न सक्ने अनुमान गरिएकाे छ ।
पछिल्ला केही सातायता मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति उल्लेख्य रूपमा बढेको देखिन्छ ।
बीबीसी भेरिफाइले उपग्रह तस्वीरमार्फत हालसम्म १२ वटा अमेरिकी युद्धपोत क्षेत्रभित्र रहेको पहिचान गरेको जनाएको छ । तीमध्ये यूएसएस अब्राहम लिंकनसहित ३ वटा आर्ले बर्क श्रेणीका विनाशक, लामो दूरीको मिसाइल प्रहार गर्न सक्ने थप २ विनाशक, तथा तटीय लडाइँका लागि प्रयोग हुने ३ विशेष युद्धपोत बहराइनस्थित नौसैनिक अड्डामा तैनाथ छन् ।
त्यस्तै, २ विनाशक पूर्वी भूमध्यसागरस्थित सौडा बेस्थित अमेरिकी अड्डा नजिक र १ विनाशक रातो सागर क्षेत्रमा देखिएको छ ।
स्थलतर्फ पनि अमेरिकी हवाई गतिविधि बढेको देखिएको छ । जोर्डनको मुवाफ्फाक सल्ती सैन्य अड्डामा एफ-१५ र ईए-१८ लडाकु विमानको संख्या बढेको उपग्रह तस्वीरले देखाएको छ ।
साथै अमेरिका र युरोपबाट मध्यपूर्वतर्फ कार्गो विमान, इन्धन आपूर्ति र सञ्चार सहयोगी विमानहरूको आवागमन पनि बढेको छ ।
मध्यपूर्वमा बढ्दो अमेरिकी सैन्य तैनाथीले इरानसँगको तनाव थप चर्किने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ ।



