गाेरखा। रौतहटमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको ज्यान गएको छ । दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्डमा आइतबार बिहानै भएकाे दुर्घटनामा दम्पतीले ज्यान गुमाएकाे राैतहट प्रहरीले जनाएकाे हाे ।
बिहान करिब ५ः३० बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको बीआर ३० यू १३७१ नम्बरको मोटरसाइकल झाझपुल नजिकै अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किएको प्रहरीले जानकारी दिएकाे छ । स्थानीयले दुर्घटनाग्रस्त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गंगापिपरा र जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो । प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठा निवासी २४ वर्षीय जितेन्द्र साह र पछाडि सवार उनकी श्रीमती २२ वर्षीया पुनम देवी साह गम्भीर घाइते भएका थिए ।
दुवै जनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल गौरमा उपचारका लागि लगिएको थियो । उनीहरुकाे उपचारकै क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



