गाेरखा । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१, बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।
लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजे सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको ललितपुर प्रहरीले पुष्टी गरेकाे हो ।
दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै, ट्रकमा सवार अन्य २ जना अन्दाजी ४० वर्षीय र ५० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको छ । अस्पताल पुर्याउनासाथ डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका थिए । अस्पतालमा ज्यान गुमाउने दुवै जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएकाे छ ।
दुर्घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।



