गोरखा । टिकटकले ‘इलेक्सन सेन्टर’ सुरु भएको जनाएको छ । एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको प्लाटफर्मले जनाएको छ ।
सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासको निरन्तरतास्वरूप यो पहल सुरु गरिएको टिकटकले जनाएको छ । ‘यसले प्रयोगकर्तालाई विश्वसनीय जानकारीसँग जोड्दै हानिकारक कन्टेन्ट हटाउने टिकटकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
यस पहलअन्तर्गत टिकटकले आयोगसँग निर्वाचनको निष्पक्षता र नैतिकतालाई सहयोग गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको छ । साथै, आयोग परिसरमा निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने विषयको सन्दर्भमा क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरेको थियो, जसमा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्धन, भ्रामक सूचनासँग जुध्ने उपाय तथा सरोकारवालाहरूबीच निर्वाचनको नैतिकता सम्बन्धि बुझाईलाई बलियो बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
एपभित्रको ‘इलेक्सन सेन्टर’ निर्वाचन आयोगसँगको सहकार्यमा विकास गरिएको हो, जसले एकै स्थानबाट आधिकारिक र विश्वसनीय निर्वाचनसम्बन्धी जानकारी पाउन सहज बनाउनको टिकटकको विश्वास छ ।
केन्द्रमा निर्वाचन प्रक्रिया, कहाँ र कसरी मतदान गर्ने भन्ने जानकारी, भ्रामक सूचना पहिचान गर्ने सुझाव तथा आयोगका आधिकारिक स्रोतसँग प्रत्यक्ष जोड्ने लिंक उपलब्ध छन् ।
साथै, टिकटकले सम्बन्धित कन्टेन्ट र सर्चमा निर्वाचन ट्याग प्रयोग गरी प्रयोगकर्तालाई सिधै ‘इलेक्सन सेन्टर’ मा मार्गनिर्देशन गर्ने जनाइएको छ ।
यो पहल टिकटकले आफ्ना प्रयोगकर्तालाई प्लेटफर्ममा उपलब्ध कन्टेन्ट र अकाउन्टबारे आवश्यक सन्दर्भ जानकारी उपलब्ध गराउने व्यापक प्रयासको एक हिस्सा रहेको प्लाटफर्मले जनाएको छ ।
हानिकारक भ्रामक सूचना र अपुष्ट कन्टेन्टमा लेबल लगाइने, सिफारिसका लागि अयोग्य बनाइने वा सेयर गर्नु अघि प्रयोगकर्तालाई पुनर्विचार गर्न सुझाव दिइने जस्ता उपाय अपनाइने जनाइएको छ । सामग्रीको सत्यता मूल्याङ्कन गर्न टिकटकले विश्वभरका २० भन्दा बढी तथ्य जाँच गर्ने संस्थासँग सहकार्य गर्दै आएको छ ।



