गाेरखा । आजदेखी देशैभर अन्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ घटाएको हो ।
संघका अध्यक्ष विनोद पोखरेलले नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि भाउ घटेको बताए ।
नयाँ भाउ अनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ३७५ र मिडियमको ३४५ कायम गरिएको छ । यस्तै एक्सएल अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ कायम भएको संघले जनाएको छ ।
यसअघि २२ माघमा ठूलो अन्डा प्रतिक्रेट ४३५ र मिडियम ४०५ रुपैयाँ रहेको थियो । ११ माघमा ठूलो अन्डा ४९५ र मिडियमको ४७५ पुगेको थियो ।
गत मंसिरमा अन्डाको भाउ हालसम्मकै उच्च भएको थियो । उक्त समय फार्ममा ठूलो अन्डा प्रतिक्रेट ५६५ र मिडियमको ५५० रुपैयाँ पुगेको थियो ।



