गोरखा । कञ्चनपुरमा हात्तीको आक्रमणबाट १ जना बालिकाको ज्यान गएको छ । लालझाडी गाउँपालिका–६ मा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का शिविरमा हात्तीले घर भत्काएपछि भाग्ने क्रममा हात्तीको आक्रमणमा परि ६ वर्षीया रेजिना साउँदको ज्यान गएको हो ।
घरमा सुतिरहेका बेला हात्तीले घर भत्काएपछि भाग्ने क्रममा रेजिनाकी हजुरआमा पार्वती घाइते भएकी छिन् । ५५ वर्षीया पार्वतीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का शिविरमा ६०० भन्दा धेरै विस्थापित परिवारको बसोबास छ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापितहरूको पुनर्स्थापना हुन नसक्दा उनीहरू निकुञ्जलगायत अन्य क्षेत्रमा बसोबास गरिरहेका छन् ।



