साँकेतिक तस्बिर
गोरखा । बर्दियामा चितुवाले आक्रमण गर्दा १ युवाको ज्यान गएको छ । गुलरिया नगरपालिका-५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट ज्यान गएको बर्दिया प्रहरीले पुष्टी गरेको हो ।
बारबर्दिया नगरपालिका–११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटना स्थल मै ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले बताए ।
गत ७ माघमा सोही क्षेत्र आसपासमा तोरीबारीमा काम गर्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–११ बेलभारकी खिदनी थारूको ज्यान गएको थियो ।
पछिल्लो समयमा बर्दियामा चितुवा र वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् । डिभिजन वन कार्यालयको तथ्यांक अनुसार गत साउन यता ६ जना चितुवाको आक्रमणबाट, १ जना पाटेबाघको आक्रमणबाट र २ जना जंगली हात्तीको आक्रमणबाट ज्यान गएको छ ।



