एजेन्सी । चेक बाउन्सको मुद्दामा पटक–पटक अदालतको समयसीमा उल्लंघन गरेपछि बलिउड अभिनेता राजपाल यादव समस्यामा परेका छन् । दिल्ली हाईकोर्टले उनलाई चेक बाउन्ससँग सम्बन्धित मुद्दामा तत्काल आत्मसमर्पण गर्न निर्देशन दिएको हो ।
अदालतले तोकेको भुक्तानीको समयसीमा बारम्बार टार्दै आएका र गरेका वाचाहरू पूरा नगरेका कारण अदालतले यो कडा कदम चालेको हो । यो विवाद ‘नेगोसिएबल इन्स्ट्रुमेन्ट्स एक्ट’को धारा १३८ अन्तर्गत दर्ता भएको चेक बाउन्स मुद्दासँग सम्बन्धित छ ।
राजपाल यादव र उनकी पत्नीविरुद्ध एउटा कम्पनीले चेकमार्फत भुक्तानी नगरेको भन्दै उजुरी दिएको थियो । सुरुमा उनलाई ६ महिनाको जेल सजाय सुनाइएको थियो, तर पछि आपसी समझदारीमा रकम तिर्ने सर्तमा हाईकोर्टले सजायलाई निलम्बन गरिदिएको थियो ।
समाचार एजेन्सी एएनआईका अनुसार, न्यायमूर्ति स्वराणा कान्ता शर्माले सुनुवाइका क्रममा राजपालको व्यवहारप्रति कडा असन्तुष्टि जनाएकी छिन् । अदालतले पटक–पटक समय थप गर्दा र सम्झौताको मौका दिँदा पनि उनले भुक्तानी गर्न नसकेको भन्दै अब थप भरोसा गर्न नसकिने फैसलामा उल्लेख छ ।
न्यायाधीश शर्माले बारम्बार झुटो वाचा गर्ने शैली अदालतको सहानुभूतिमाथिको दुरुपयोग भएको र यो कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेकी छिन् ।
अदालतले यसअघि राजपाललाई दिएको संरक्षण आदेश फिर्ता लिँदै उनलाई ४ फेब्रुअरी २०२६ सम्म सम्बन्धित जेल अधीक्षकसमक्ष आत्मसमर्पण गर्न निर्देशन दिएको छ । साथै, यसअघि अदालतमा जम्मा गरिएको रकम उजुरीकर्ता कम्पनीलाई उपलब्ध गराउन समेत भनिएको छ ।
यस मुद्दाको अर्को सुनुवाइ ५ फेब्रुअरी २०२६ मा हुनेछ, जहाँ उनले आत्मसमर्पण गरे–नगरेको रिपोर्ट पेश गर्नुपर्नेछ ।



